विधान महाधिवेशनअघि एमालेको केन्द्रीय कमिटी बैठक नबस्ने

राजनीति समाचार

काठमाडौं । सत्ता घटक दल एमालेको दोस्रो विधान महाधिवेशनअघि बस्ने भनिएको केन्द्रीय कमिटी बैठक नबस्ने भएको छ । गत भदौ १३ गतेलाई बोलाइएको केन्द्रीय कमिटी बैठक आवश्यक तयारी नपुगेको बहानामा अन्तिम समयमा स्थगित भएको थियो ।

१३ गतेको बैठक स्थगित गरेपछि भदौ १९ वा २० गते बिहान केन्द्रीय कमिटी बैठक बस्ने एमालेको तयारी थियो । आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा एमाले विधान महाधिवेशन आयोजना हुँदैछ ।

महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । महाधिवेशनमा प्रस्तुत हुने मुख्य तीन वटा प्रतिवेदन राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव छपाइको काम भइरहेको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् । यस्तै निर्वाचन, अनुशासन, लेखा आयोग र सल्लाहकार परिषद्को प्रतिवेदन पनि छपाइकै क्रममा छ ।

अधिकारीका अनुसार महाधिवेशन प्रतिनिधि परिचय पत्र छपाइको काम सकिएको छ । आवश्यक तयारी पुरा हुने क्रममा रहे पनि भदौ १३ गतेलाई बोलाएर स्थगित गरिएको सो पार्टीको केन्द्रीय कमिटी बैठक अव नबस्ने निश्चितजस्तै भएको छ ।

केन्द्रीय कमिटी बैठकको साटो केन्द्रीय सचिवालय बैठक राख्ने एमालेको तयारी रहेको बुझिएको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणबाट १८ गते रातिमात्र फर्कने भएकाले केन्द्रीय कमिटी बैठक राख्न असम्भव भएको नेताहरूले जानकारी दिएका छन ।

Facebook Comments Box